Janachasonews.com

बद्रिनाथ बरालको संघर्षमय जीवन कथाले अर्को नयाँ कर्मयोगी जन्माउन प्रेरणा मिल्छ

Facebook
Twitter
Email

-प्रधुम्न भट्टराई

जसरी वगिरहेको खोलालाई बाँध बाँधेर उर्जामा परिणत गर्न सकिन्छ । त्यसैगरि देशमा रहेको जनशक्ति वा जुनसुकै स्रोतलाई उर्जामा रुपान्तरण गर्ने हो भने देशको विकास र समृद्धि टाढा छैन । अविरल बगिरहेको जलस्रोत,अभूतपूर्व संभावना रहेको प्राकृतिक सौन्दर्य अनि रुपान्तरणका लागि विष्मयकारी युवाशक्तिको सहि सदुपयोग हुने हो भने नेपालले समृद्धिको फड्को मार्न समय लाग्ने छैन ।

निराशाले दैनिक हजारौ युवा विदेश पलायन भैरहँदा स्वदेशमै संघर्ष गरेर देशकै लागी समर्पित हुने अठोट बोकेका बद्रिनाथ बराल भने नेपाललाई संभावनाको खानी मान्छन् । काम गर्ने अठोट र लक्ष्यमा पुग्ने धैर्यता हुनेका लागि नेपाल स्वर्ग हो । बरालको विचारमा उर्जा पर्यटन र कृषीमार्फत नै देशको कायापलट गर्न सकिन्छ ।
ज्योतिर्मय जीन्दगीका लागि आशाको दीयो बालिरहनुपर्छ । जतिसुकै असहज तथा संकटको घडी होस । जिवन प्रतिको बलियो आशा, धैर्यता र साँधिएको लक्ष्यमा अर्जुनदृष्टीले कुनै एक दिन जीवनभर भोगेका दुख र संघर्षको पहाड भत्काएर जिवनयात्रा समथर बनाइदिन्छ । गाँउको एउटा सामान्य किसान परिवारमा जन्मिएका बद्रिनाथ बराल जीवनका अनेक आरोह अवरोहका बिच अहिले अन्तराष्ट्रिय गैरसरकारी संस्था विनरक इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशकको हैसियतमा पुगेका छन । जीवनप्रतिको सकारात्मक सोच तथा उज्यालो र आशाको दृष्टी विच्छाइरहने कर्मयोगी बद्रिको संघर्षकथा जति रोचक छ उत्तिकै प्रेरणादायी समेत छ ।

कास्कीको साविक आर्वा विजय गाविसमा २०३६ साल असारमा जन्मिएका बद्रिको बाल्यकाल सयुक्त परिवारमा वित्यो । ठुलो परिवार भएकोले बाबु बर्दिया बसाइ सरेपनि हजुरबुवा हजुरआमा तथा काका–काकीको अविभावकत्वमा हुर्किएका बद्रीसँग घरगोठ, घाँस दाउरा उकाली ओरालीसँगै विद्यालय शिक्षा अघि बढाएको घतलाग्दो विगत छ ।

घरको भित्री वाहिरी काम । गाँइभैसीको स्याहार सुसारसँगै गाँउकै स्कुलको संगत । अनि मट्टितेलको टुकीमा अक्षर चिनेको समय । यिनै जिवन इन्द्रेणीका अनेक रंगसँग घोलिएका बद्रि सानैबाट मेधवी थिए । कक्षा सातसम्म गाँउकै विद्यालयमा पढेर मावी तह अध्ययन गर्न अमरसिंह मावी झरेका उनी पृथ्वीनारायण क्याम्पसबाट आइएसी पुरा गरे । थप अध्ययनका लागि काठमाण्डौ आगमन, इन्जिनियरिङ अध्ययनका लागि भारतीय दुतावासको छात्रवृत्ती अनि स्नातकोत्तर तहमा लाहोर विश्वविद्यालयमा पढन पाउने मौका । बद्रिको जिन्दगीमा महत्वपूर्ण टर्निङ प्वाइन्ट हुन ।

अहिले पनि वाल्यकालको संझनाले झस्काइरहन्छ । निम्न आर्थिक अवस्थाका विच दुख जिलोमा गुज्रिएपनि त्यो समयको आफ्नो महत्व थियो । विद्यालय जाने जुत्ता नहुदा कहिलेकाँहि त लाग्थ्यो सँधै बर्खा भैदियोस । ताकि शिक्षकलाई भन्न पाइयोस खोलाले बगाउने डरले जुता नलगाएको कुरा । तर त्यही समयले सिकाएको संघर्षको जगमा आफू अहिलेको अवस्थामा आएको उनलाई राम्रोसँग बोध छ ।

जेहेन्दार छविका बद्रिको उच्च शिक्षा अध्ययनको यात्रा भने कहिल्यै घुमाउरो भएन । आएका अवसरलाई आफ्नो पक्षमा पार्न सिपालु बद्रिले कुनै मौका चुक्न दिएनन । एकल संघर्षका विच करियर पथमा आफुले गरेका निर्णय सहि सावित भएको उनको बुझाइ छ । लाहोर विश्वविद्यालयबाट छात्रवृत्तीमा एमविए सकेर फर्किए लगत्तै उर्जा कम्पनीमा जोडिएका उनलाई उर्जा नै नेपालको समृद्धिको आधार हो भन्ने लागेको हो । उर्जा क्षेत्रमा रहदा २ सय बढी हाइड्रो प्रोजेक्टमा जोडिएका उनी त्यसपछि युएनडिपीमा काम गरे ।

आफ्नै नेतृत्वमा सगरमाथा इन्जिनियरिङ कलेज तथा भारतीय विद्यालयसँगको सम्बधनमा ब्यवस्थित सिकाइ सहितको मन्टेश्वरी विद्यालय सन्चालन गरेपनि उनी भने अन्तराष्ट्रिय गैरसरकारी संस्थामै सक्रिय रहिरहे । अमेरिकी विनरक इन्टरनेशनल नेपालमा अफिसरको रुपमा प्रवेश गरेका बद्री अहिले सोहि संस्थामा राष्ट्रिय निर्देशक छन ।

आइएनजीओमा काम गर्नेलाई डलरको खेति गरेको आरोप लाग्ने गर्छ । तर नबुझेर लगाइएका आरोप प्रति बद्रिलाइ त्यति चासो छैन । आफूले गरेको अध्ययन र कामको क्षेत्र पृथक देखिएपनि सिकाइका सबै विषयलाई ब्यवस्थित संयोजन गर्न सकेकै कारण आफू यहाँसम्म आइपुगेको उनी बताउछन । जीवनलाई अर्थ्याउने सबैका भिन्नाभिन्नै दृष्टिकोण हुन्छन । बद्रिलाई लाग्छ अनुभवको संगालो र भोलि के गर्ने भन्ने हुटहुटीको संयोजन नै जीवन हो ।जीवनभर सिकेका कुरालाई अघि बढाउन र आशाको दियो बाल्न अनुभवले काम गर्छ । यसैलाई ब्यवस्थित र सन्तुलित बनाउन सक्यो भने जीवन खुशीमय हुन्छ ।

जीवनलाई कति चम्काउने भन्ने कुरा उसले गरेको संघर्षमा भर पर्छ । आफूले गरिरहेको कामप्रतिको दृढविश्वास, धैर्यता र निरन्तर परिश्रम । आफ्नो ब्रम्हले चाहेको क्षेत्रमा नथाकेर काम गरिरहने हो भने एक दिन जीवनभरका संघर्षको ब्याज सहित चुक्ता हुनेछ । सफलताको सुत्र सोध्नेहरुलाई उनको जवाफ हुने गर्छ । आफूले निर्धारण गरेको लक्ष्यमा धैर्यता पूर्वक मेहनत गरिरहने ।

जीवनका ति निर्णायक घुम्तिहरु । जुन समयमा गरिएका निर्णय आज सत्य सावित भएका छन । अनेक आरोह अवरोहका बीच लक्ष्यमा केन्द्रित भएर अर्जुन झै लाग्दाको परिणाम हो आज । विगत जति उत्साहपूर्ण थियो भविस्यको रोमान्चकताले पनि बद्रिलाई उत्तिकै उर्जा दिन्छ । पाएको मौकालाई उत्कृष्ठ सावित गर्ने बानिले नै हो यहाँसम्म ल्याइपुर्याएको । अवसर नभएको भन्दै दैनिक हजारौको संख्यामा युवा पलायन देशकैको ठुलो चुनौति बनेको बेला बद्रिलाई लाग्छ पहिचान गर्न जान्यो र चाह्यो भने नेपाल अवसरको खानी हो । आफ्ना थुप्रै सहपाठी विदेशमा राम्रै क्षेत्रमा स्थापित भएपनि आफ्नै देशमा केहि गर्न पाएकोमा उनी खुशी छन ।

देशमा रहेको क्षमताको बाँध बाँधेर उर्जा निकाल्नुपर्छ । त्यहिबाट शुरु हुनेछ मुलुकको संबृद्धिको यात्रा । आफूले सिकेको कुरालाई ब्यवस्थित रुपमा खर्चिने,उद्यमशिलता तथा शिक्षा क्षेत्रमा समेत आफ्नो सक्रियतालाई अझ प्रभावकारी बनाउने उनको भोलिको योजना छ। नेपालको आर्थिक विकासको मेरुदण्ड उर्जा नै हो । यसको सहि सदुपयोग हुन सकेमा मात्रै मुलुकले विकास र समृद्धि मा कोल्टे फेर्छ । नेपालमा उत्पादन भएको उर्जाको देशमै खपत हुने गरि काम हुन जरुरी छ ।

रेमिट्यान्सबाट भित्रिने अर्बौ रकम अनुत्पादक क्षेत्रमा खर्च भैरहेको छ । सानो, ठुलो जस्ले जति सक्छ उसलाई लगानी उन्मुख बनाउन जरुरी छ । उर्जा पर्यटन र कृषीको त्रिवेणीमा देशको उज्वल भविस्य देख्ने बद्री हरेक चुनौतिलाई उज्यालो दृष्टीबाट हेर्नुपर्छ भन्ने चिन्तनका संवाहक पनि हुन ।

दुरदराजको ग्रामिण परिवेशबाट अनेक हण्डर ठक्करका बिच एक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको नीति निर्माण तहमा पुगेका बद्रीको पारिवारिक अवस्था उत्तिकै सन्तोषजनक छ ।कर्मपथमा अडिग भएर लागिरहन परिवारको को साथ सहयोगले नै उनी आज यो अवस्थासम्म आइपुगेका हुन्। करियर र पारिवारिक अवस्था समानान्तर रुपमा मजबुत बनाइराख्नु चुनौतिपूर्ण कुरा हो । तर यी दुवै विषयलाई उनले मिलाएर लगेका छन्।

भोलिको कुरा आजै गर्ने,एक निडर र समयप्रति प्रतिबद्ध बद्रि पारिवारिक जिम्मेवारी बहनमा उत्तिकै चनाखो छन । मनोविज्ञान वुझेर हरेका कुरामा चासो दिने र सघाउने बाबुको ब्यवहारपछि छोरि इशानी बराल पनि खुशी देखिन्छिन । कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझैँ निराश युवाजमातको विचमा बद्रिनाथ बराल आशाको मशाल हुन । संभावना पहिचान गर्न सक्ने हो भने देशमा अवसरको अभाव नरहेको बताउने बद्रि नयाँ पुस्ताका लागि एक आइकन हुन । जसको संघर्षमय जीवन कथाले अर्को नयाँ कर्मयोगी जन्माउन प्रेरणा दिन सक्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *